आयल निगम कमिसनले प्वालै प्वाल परेको छ : मन्त्री यादव

Arthikbazar.com – नेपाल आयल निगम कमिसन र भ्रष्टाचारले प्यालै प्वाल परेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिकाप्रसाद यादवले बताएका छन् ।

आज आयोजित निगमको ४९औं वार्षिकाेत्सवमा बोल्दै उनले यस्तो बताएका हुन् । विगतमा मन्त्री, सचिव, कार्यकारी निर्देशकदेखि व्यापारी र ट्यांकर चालकसमेत आर्थिक अनियमिततामा संलग्न रहेको मन्त्री यादवले बताए ।

म ९ महिनादेखि बिक्रेता विनियमावली बनाऊँ भनिरहेको छु, तर अहिलेसम्म काम भएको छैन,’ उनले भने, ‘समयमा काम नहुनुको कारण अनियमितता गर्न पाइँदैन भन्ने हो ।

हरेक व्यक्ति, व्यवसायी र निगम कर्मचारीको आचरणमा सुधार हुनुपर्ने बताउँदै यादवले भने, ‘विष्फोट विष्फोट हुने अवस्था नल्याउनुहोला । यहाँ जनता, व्यवसायी तथा निजी क्षेत्र र कर्मचारी सबैको लगानी छ ।’ सबैको लगानीको सम्मान गर्दै निगमको कामलाई व्यवस्थित बनाउनुपर्ने पनि उनले दोहोर्याए ।

दशैंताका निगम ४ अर्ब रुपैयाँ घाटामा रहेको तर अहिले त्यो निरन्तर घटिरहेको मन्त्री यादवले जानकारी दिए । उनका अनुसार केही दिनमा पूरै घाटा शून्यमा झर्छ  र पेट्रोलियमको भाउ अझ घटाइनेछ ।

पछिल्लो समय ६ पटकसम्म पेट्रोलियमको मूल्य कम भएको सन्दर्भ जोड्दै उनले भने, ‘डिजेल र पेट्रोलको मूल्य घटे पनि बस भाडा घटेको छैन । ढुवानीमा कुस्ता कुस्ती हुन्छ । मूल्य बढ्नासाथ भाडा बढाइन्छ । तर, घट्दा किन घट्दैन ।’ निजी क्षेत्रले पनि आफ्नो दायित्व बिर्सन नहुने उनले बताए ।

यसमा तपाइको मत