घलेम्दी हाइड्रोको आईपिओ भर्ने सोमबार अन्तिम दिन, लगानी उठ्न ९ वर्ष लाग्ने

Arthikbazar – घलेम्दी हाइड्रो लिमिटेड (GHL)को साधारण शेयर (आईपिओ) मा आवेदन गर्ने सोमबार (पुस २३) अन्तिम दिन रहेको छ। कम्पनीले पुस १९ गतेदेखि एक सय रुपैयाँ अंकित दरमा १५ करोड ३३ लाख ७७ हजार रुपैयाँ बराबरको १५ लाख ३३ हजार ७७० कित्ता आईपिओ सर्वसाधारणमा बिक्रीमा ल्याएको थियो ।

घलेम्दीले पहिलो चरणमा आयोजना प्रभावितका लागि निष्काशन गरेको अवितरित शेयर सहित कूल १५ करोड ५५ लाख ७७ हजार रुपैयाँ बराबरको १५ लाख ५५ हजार ७७० कित्ता शेयर निष्काशन गरेको हो ।

जसमध्ये सामूहिक लगानी कोषका इकाईलाई ५५ हजार कित्ता तथा कर्मचारीलाई २२ हजार कित्ता छुट्टाइएको थियो । सामूहिक लगानी कोषको तर्फबाट कुनै आवेदन नहुँदा सो शेयर सहित गरि १५ लाख ३३ हजार ७७० कित्ता शेयरमा सर्वसाधारणले आवेदन गर्न सक्नेछन् ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा भिवोर क्यापिटल लिमिटेड रहेको छ । आईपिओमा धितोपत्र बोर्डबाट सि आश्वा सदस्यको अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट ७७ जिल्लाबाटै आवेदन गर्न सकिनेछ । यसका अलवा मेरो शेयर प्रयोगकर्ताले सो सफ्टवेयरबाट समेत सोमबार कार्यालय समयभित्र अनलाईन आवेदन गर्न सक्नेछन् ।

कम्पनीको आईपिओमा न्यूनतम पाँच हजार रुपैयाँ (५० कित्ता) देखि दश लाख रुपैयाँसम्म (१० हजार कित्ता) आवेदन गर्न पाउने व्यवस्था रहेको छ ।

इक्रा रेटिङ्गमा कमजोरस् ग्रेड ५ मात्र

कम्पनीले निष्काशन गर्न लागेको आईपिओले रेटिङ्ग कम्पनी इक्रा नेपालले इक्रा एनएपि आईपिओ ग्रेड ५ प्रमाणपत्र प्राप्त गरेको छ । जसले कम्पनीको आधारभुत अवस्था अत्यन्त कमजोर रहेको जनाउँछ ।

कस्तो छ कम्पनी ?

५५ करोड रुपैयाँ जारी पूँजी रहेको आयोजनामा संस्थापकको ७० प्रतिशत अर्थात ३८ करोड ५० लाख लगानी रहेको छ । आयोजनामा स्थानीयबासिन्दा र सर्वसाधारणको गरि ३० प्रतिशत अर्थात १६ करोड ५० लाख रुपैयाँ लगानी रहने छ । एक हजार ३०० जनाको ३५ करोड ५० लाख रुपैयाँ बराबरको संस्थापक शेयर रहेको सो आयोजनामा लुम्बिनी र टुरिजम विकास बैंकले ५५ करोड लगानी गरेका छन् ।

कूल एक अर्ब १५ करोड रुपैयाँ लागत अनुमान गरिएको ५ मेगावाटको घलेम्दी जलविद्युत आयोजना म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निमार्ण भइरहेको छ । नब्बे प्रतिशतभन्दा बढी पूर्वाधार निर्माणको काम सकेको उक्त आयोजनाले आगामी फागुनमा विद्युत उत्पादनको तयारी गरेको छ । वि.सं. २०७१ देखि शुरु भएको आयोजनाको पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको हो । प्रति मेगावाट लागत २३ करोड रुपैयाँ पर्ने यो आयोजनाले ८ वर्षसम्म कर्जा चुक्ता गर्ने कम्पनीले जनाएको छ ।

जलविद्युत आयोजना निर्माण अन्तिम चरणमा पुगेको छ। पाँच मेगावाट क्षमताको उक्त आयोजनाको इन्टेक, सुरुङ, पेनस्टक, पाइप जडान र जलविद्युतगृह निर्माणको काम अन्तिम चरणमा पुगेको छ । चैत महिनाभित्रै परीक्षण उत्पादन शुरु गर्ने लक्ष्यसहित तिब्र गतिमा काम अघि बढाएको घलेम्दी हाइड्रो लिमिटेडका सचिव बिमल रिजालले जानकारी दिए ।

लगानी उठ्न ९ वर्ष लाग्ने

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा सञ्चालित यस आयोजनाले साधारण शेयर निष्काशन गर्न प्रकाशित गरेको विवरण पत्रमा आयोजनामा हुने साधारण लगानी फिर्ता हुन ८.७८ वर्ष समय लाग्ने जनाएको छ । डिस्काउन्टमा लगानीमा फिर्ता हुन लाग्ने समयावधि २०.७० वर्ष रहेको छ ।

यसअनुसार कम्पनीको साधारण शेयरमा लगानी गर्ने शेयरधनीले कम्तिमा ९ बर्ष लाभांशका लागि कुर्नुपर्ने देखिन्छ । कम्पनीले प्रकाशित गरेको विवरण पत्र अनुसार चालू आर्थिक वर्षको अन्त्यसम्म कम्पनीको नेटवर्थ ७९.७० पैसा रहने उल्लेख छ ।
त्यस्तै कम्पनीमा लगानी गर्ने लगानीकर्ताले यस आर्थिक वर्षमा दुई करोड ६२ लाख ५७ हजार नोक्सनी रहने प्रक्षेपण गरिएको छ । जसअनुसार आयोजनामा लगानी गर्दा प्रतिकित्ता ४ रुपैयाँ ७७ पैसा नोक्सानी व्यहोर्नुपर्नेछ ।

यसमा तपाइको मत