मंसिरको पहिलो सातामा बैंकहरुको निक्षेप घट्यो : रोकिएन कर्जा विस्तार

Arthikbazar.com – बैंकहरुले बैकिंङ्ग प्रणालीमा लगानी योग्य रकम अभाव भएको बताउँदै आएपनि कर्जा विस्तारमा संयमित देखिएका छैनन्  ।

मंसिर महिनाको पहिलो सातामा बैंकहरुबाट दुई अर्ब निक्षेप घट्दा समेत पाँच अर्ब बढी कर्जा परिचालन गरेका छन् । ऋण दिने पैसा अभाव भएपछि संयमता अपनाएका बैंकहरुले मंसिर लागेपछि भने कर्जा विस्तारमा आक्रमक देखिएका छन् ।

मंसिरको पहिलो साता मात्रै बैंकहरुले ५ अर्ब कर्जा परिचालन गरेका छन् । जबकी कार्तिक मसान्तको तुलनामा मंसिरको पहिलो हप्तामा बैंकहरुको निक्षेप दुई अर्ब  रूपैयाँले घटेको छ ।

नेपाल राष्ट्र बैंकबाट प्राप्त पछिल्लो तथ्याङ्क अनुसार मंसिरको पहिलो सातासम्म बैंकहरुमा २५ खर्ब ६४ अर्ब कुल निक्षेप रहेको छ भने यस अवधिमा बैंकहरुले कूल २२ खर्ब ८८ अर्ब कर्जा विस्तार गरेका छन् ।

कार्तिक मसान्तसम्म बैंकहरुमा २५ खर्ब ६६ अर्ब कूल निक्षेप रहेको थियो भने सो अवधिमा २२ खर्ब ८३ अर्ब कर्जा विस्तार गरेका थिए । असोज मसान्त यता बैंकहरुले करिब ४२ अर्ब निक्षेप बढाउँदा ४२ अर्ब नै कर्जा विस्तार गरेका छन् । असोज मसान्तसम्म बैंकहरुमा २५ खर्ब २३ अर्ब निक्षेप उठाएर २२ खर्ब ४६ अर्ब कर्जा परिचालन गरेका थिए ।

 

गत असार मसान्तको तुलनामा बैंकहरुमा निक्षेप ९४ अर्ब रुपैयाँ थपिएको छ भने कर्जा १७७ अर्बले बढेको छ । गत असारको अन्त्यसम्म बैंकहरुले २४ खर्ब ७० अर्ब निक्षेप उठाएर २१ खर्ब ११ अर्ब कर्जा परिचालन गरेका थिए ।

यसमा तपाइको मत