सरकार जुम्रा मार्न बनेको होइन : देश विकास गर्न बनेको हो : प्रधानमन्त्री

Arthikbazar.com – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार कहाँ छ भनेर प्रश्न गर्नेहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोष शुभारम्भ गरेर   गतिलो जवाफ दिइएको बताएका छन् ।

मंगलबार कोषको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले २५ वर्ष अघि थालेको काम आजबाट नयाँ आयाममा बदलिएको भन्दै यसको परिकल्पना गर्दा धेरैले आफूहरुलाई उडाउने गरेपनि आज आएर सार्थक भएको दावी गरे ।

‘श्रमको सम्मानसहित नयाँ प्राणालीको थालनी गर्दै छौ’, ओलीले भने, ‘बिरामी, आम्दानी भएका, नभएका सबैका लागि यो कार्यक्रम फलदायी हुने हुन्छ ।’

‘कोक्रोमा नआउँदैदेखि अन्तिम अवस्थासम्मका लागि यो कार्यक्रम हो’ प्रधानमन्त्रीले सरकार नदेख्नेलाई प्रश्न गर्दै भने, ‘सरकार मजदुरलाई सोध्नुस् कहाँ छ , दुख पाएका जनतालाई सोध्नुस् जवाफ पाउनुहुनेछ ।’

‘केही दिनमा अव मेलम्ची आउँछ, त्यसले जवाफ दिन्छ सरकार कहाँ छ ? बाटोमा धूलो उड्न छाडेको छ । सडक सफा गरिएको छ । सडक धोइएको छ । जता फक्र्यो त्यतै सरकार देखेपछि सरकार कहाँ छ भन्नेहरु चुप लाग्नुहुन्छ ’ प्रधानमन्त्रीले व्यङ्ग्य मिश्रितशैलीमा भने ।

 प्रधानमन्त्री केपी शर्मा ओली सरकार काम गर्न व्यस्त रहेको बताएका छन् ।

कसैले सरकार कहाँ छ ? कसैले जुम्रा पनि मारेन, सिन्को भाँचेन भन्ने गरेको भन्दै उनले भने, ‘यो सरकार जुम्रा मार्न बनेको होइन । देश विकास गर्न बनेको हो ।’

केही दिनअघि नेपाली काँग्रेसले सरकार कहाँ छ भन्दै प्रश्न गरेको थियो । प्रधानमन्त्री ओलीले जनता निराश हुनुपर्ने कुनै कारण नभएको भन्दै सरकार जनताले देखाएको बाटोमा हिड्ने दावी पनि गरे ।

यसमा तपाइको मत