मध्यभोटेकोशीको १ करोड ४४ लाख कित्ता साधारण शेयर खुल्यो, क-कसले गर्न पाउँछन् आवेदन ?

Arthikbazar – मध्यभोटेकोशी जलविद्युत आयोजनाले पहिलो चरणमा कात्तिक २८ गतेदेखि साधारण शेयर निष्काशन भएको हो । कर्मचारी सञ्चयकोषका बचतकर्ता, संस्थापक संगठित संस्थाका कर्मचारी र ऋणदाता संस्थाका कर्मचारीका लागि पहिलो चरणमा १ करोड ४४ लाख कित्ता शेयर निष्काशन भएको हो ।

पहिलो चरणमा कात्तिक २८ गते बुधबारदेखि मंसिर १४ गतेसम्म कर्मचारी सञ्चय कोषका बचतकर्ताहरुका लागि १ करोड १७ लाख कित्ता शेयर निष्काशन हुनेछ । कर्मचारी सञ्चय कोषका बचतकर्तालाई छुट्याइएको १ करोड १७ लाख कित्ता शेयर निष्काशन भएपश्चात मंसिर १८ देखि २६ गतेसम्म संस्थापक संस्थाका कर्मचारी तथा ऋणदाता संस्था कर्मचारी सञ्चय कोषका कर्मचारीका लागि शेयर निष्काशन गरिने बताइएको छ ।

संस्थापक संस्थाका कर्मचारीका लागि ३.५ प्रतिशत अर्थात २१ लाख कित्ता तथा ऋणदाता संस्था कर्मचारी सञ्चयकोषका कर्मचारीका लागि ६ लाख कित्ता शेयर छुट्याइएको छ । सबै आवेदकहरुले सी (आस्वा प्रणालीबाट मात्र आवेदन गर्न पाउनेछन् । सञ्चयकर्ताको परिचयपत्र, कर्मचारीको परिचयपत्र लगायत कागजात अनिवार्य गरिएको छ ।

कर्मचारी सञ्चय कोषका बचतकर्ता र संस्थापक संगठित संस्थाका कर्मचारीले कम्तीमा ५० कित्तादेखि ५ सय कित्तासम्मका लागि आवेदन गर्न पाउनेछन् । त्यसै गरी ऋणदाता कर्मचारी सञ्चयकोषका कर्मचारीले कम्तीमा ५० कित्तादेखि १२ सय कित्तासम्मका लागि शेयर आवेदन गर्न सक्ने छन् ।

जलविद्युत आयोजना र कर्मचारी सञ्चयकोषका बीचमा भएको सम्झौता अनुसार २०६८ मंसिर २२ मा बहाल रहेका र २०७५ असोज २९ गतेसम्म थपिएका सञ्चय कोषका बचतकर्ता, कर्मचारी तथा संस्थापक संस्थाका कर्मचारीले मात्र शेयरमा आवेदन गर्न सक्नेछन् ।

कम्पनीको शेयर निष्काशन तथा विक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल रहेको छ । एनआईबिएल एस क्यापिटल, प्रभु क्यापिटल, लक्ष्मी क्यापिटल मार्केट, सिभिल क्यापिटल मार्केट, सानिमा क्यापिटल र सीआईबिएल क्यापिटल लिमिटेड सहबिक्री प्रबन्धक रहेका छन् ।

सञ्चयकोषका बचतकर्ता र कर्मचारी तथा संस्थापक संस्थाका कर्मचारीलाई शेयर निष्काशन गरिसकेपश्चात दोस्रो चरणमा आयोजना प्रभावित सिन्धुपाल्चोक बासीका लागि ६० करोड बराबरको ६० लाख कित्ता आईपिओ निष्काशन गर्ने योजना कम्पनीको छ । त्यसपछि तेस्रो चरणमा सर्वसाधारणका लागि ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता शेयर निष्काशन गरिने बताइएको छ ।

कम्पनीले पहिलो चरणमा रु १०० अङ्कित दरका एक करोड ४४ लाख कित्ता साधारण शेयर बिक्रीका लागि नेपाल धितोपत्र बोर्डबाट गत असोज २९ गते कम्पनीले स्वीकृति पाएको थियो ।

यसमा तपाइको मत