होटल सिद्धार्थ भ्यूलाई चारतारेकोे मान्यता : ५० करोड लगानी

ARTHIKBAZAR – ५० करोड बढी लगानी गरिसकेको सिद्धार्थ ग्रुपअफ हस्पिटालिटीद्वारा सञ्चालित नेपालगन्जस्थित होटल सिद्धार्थ भ्यूले चारतारे होटलको मान्यता पाएको छ ।

पछिल्लो केही समययता नेपालगन्जमा तारे होटलहरू धमाधम एकपछि अर्को खुल्न थालेपछि यसअघिनै सञ्चालनमा रहेको होटलले लगानी थप गरेर चारतारे होटलका सबै प्रावधानहरू पूरा गरेकाले  होटललाई चारतारेको मान्यता प्राप्त भएको सिद्धार्थ ग्रुप अफ हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले बताए।

उनले मानसरोवर जाने भारतीय धार्मिक यात्रुहरू बर्सेनि बढ्दै गएको तथा नेपालगन्ज कर्णाली प्रदेशकाद्वार समेत रहेकाले अन्य आन्तरिक पर्यटकहरूसमेत बढ्दै गएकोले ५० करोड लगानी पुराएर होटललाई चारतारे बनाइएको बताए ।

यसअघि कोहलपुरस्थित होटल सेन्ट्रल प्लाजा र नेपालगन्जस्थित होटल सोल्टी वेस्टर्न प्रिमियरले पनि चारतारे होटलको मान्यता पाइसकेका छन् ।

तीबाहेक होटल किचन हट र होटल सिग्नेटले चारतारे मान्यताका लागि सबै गुणस्तर पूरा गरिसकेकाले छिट्टै मान्यता पाउने ती होटलका सञ्चालकहरूले बताएका छन् ।

यसैगरी नेपालगन्जका अन्य आधा दर्जनजति होटल तीनतारे मान्यताका साथ सञ्चालनमा छन् । होटल सिद्धार्थ भ्यूलाई अझै स्तरीय होटल बनाउन थप लगानी गर्ने र केही वर्षभित्रै पाँचतारेको मान्यतासमेत प्राप्त गर्ने उद्देश्यका साथ काम भइरहेको सिद्धार्थ ग्रुपअफ हस्पिटालिटीका प्रमुख कार्यकारी न्यौपानेले बताए ।

होटल तथा रेस्टुराँको क्षेत्रमा देशकै अग्रणी लगानीकर्ता मध्येको सिद्धार्थ ग्रुपअफ हस्पिटालिटीको होटल भ्यू सिद्धार्थ पहिलो फोर स्टार होटल भएको पनि उनले जनाए ।

“यसले हामीलाई हस्पिटालिटीको क्षेत्रमा अझ हौसला प्रदान गरेको छ,” प्रमुख कार्यकारी अधिकृत न्यौपानेले होटल सिद्धार्थ भ्यू–पर्यटन विभागबाट फोर स्टार स्तरको होटलमा वर्गीकरण परेपछि भने, “थप लगानी पनि गरिरहेका छौं ।”

केही महिनामै क्यासिनो सञ्चालन गरिने जानकारी गराउँदै उनले भने, “त्यसका लागि दोस्रो पार्टीसँग सम्झौता गरिसकेका छौ र त्यसका लागि पनि करोडौं लगानी थप गरिनेछ ।”

पछिल्लो समयमा बाँकेमा तारे होटल खुल्ने प्रतिस्पर्धानै चलेको छ । ७१ करोडको लगानीमा नेपालगन्ज–कोहलपुर सडकखण्डको हवल्दारपुर नजिक पनि एक अर्को चारतारे होटलको निर्माण सुरु गरिएको होटल अर्गनाइजेसन बाँकेले जनाएको छ ।

नेपालगन्जलाई पश्चिम नेपालकै होटल हब बनाउने उद्देश्यका साथ होटलमा लगानी गर्ने लगानीकर्ताहरूलाई आकर्षित गर्ने कार्य निरन्तर जारी रहेको होटल अर्गनाइजेसन नेपालका पूर्वउपाध्यक्ष भाष्कर काफ्लेले बताए ।

उनले कैलाश मानसरोवर जाने भारतीय तीर्थयात्रुहरूका कारण बाँकेको होटल व्यवसाय निकै फस्टाएको समेत बताए ।

यसमा तपाइको मत