शेयर बजार अनलाइन प्रणालीमा जान अझै समय लाग्ने

Arthikbazar – धितोपत्र बजारलाई पूर्णरुपमा अनलाइन प्रणालीमा लैजान अझै दुई महिना लाग्ने भएको छ । अनलाइन कारोबार प्रणालीको परीक्षण शुरु भएको जानकारी दिन आज नेपाल स्टक एक्चेञ्जमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार आगामी दुई महिनापछि मात्रै शेयर कारोबार पूर्णरुपमा अनलाइनमा हुनेछ ।

निर्धारित समयमा आवश्यक भौतिक पूर्वाधार तथा तयारी हुन नसक्दा पूर्णरुपमा कारोबार अनलाइनमार्फत हुन नसकेको स्टकका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले जानकारी दिए । ‘डाटा सेन्टर’ तयारीका लागि थप समय लाग्ने भएकाले पूर्णरुपमा अनलाइन कारोबार प्रणाली सञ्चालनमा ल्याउन समस्या भयो, परीक्षणको रुपमा ‘मोक ट्रेडिङ’ मात्रै शुरु भएको छ’ प्रमुख कार्यकारी अधिकृत साउदले भने।

परीक्षण गर्न मात्रै कम्तिमा डेढ महिना लाग्ने देखिएको छ । शेयर दलाल कम्पनीले पनि टाडा सेन्टर बनाउन स्टकले निर्देशन दिएको छ । दलाल कम्पनीले आफ्नै डाटा सेन्टर तयार गर्नसक्ने वा सामूहिक रूपमा पनि तयार गर्नसक्ने व्यवस्था गरिएको छ । परीक्षणका रुपमा मङ्गलबारदेखि लगानीकर्तालाई अभ्यस्त बनाउन लागिएको स्टकले जनाएको छ ।

यसमा तपाइको मत