बैकिङ्ग संसारकै विशिष्ट र उत्कृष्ट पेशा हो : रमेश जोशी

सिन्धु विकास बैंकका प्रमुख कार्यकारी अधिकृत हुनुहुन्छ रमेशप्रसाद जोशी । सिन्धु विकास बैंक ५ जिल्ला कार्य क्षेत्र भएको निजी स्तरको बैंक हो । राष्ट्र बैंकको नीति निर्देशन भित्र रहेर शाखा विस्तार, निक्षेप संकलन तथा कर्जा लगानी कार्य गर्दै आएको बैंकले वित्तीय साक्षरता, बैंकिङ पहुँच लगायत सर्वसाधारणहरुको आवश्यकतालाई मध्यनजर गर्दै आएको छ । यसैबीच, बैंकका भावी योजना, कार्यक्षेत्रभित्र वित्तीय पहुँच एवम् साक्षरताको अवस्था, क्षेत्रीय विकास बैंकका चुनौती , सरकारले ल्याएको मौद्रिक निती लगायतका विषयमा यहाँ प्रस्तुत छ आर्थिकबजार डटकमका लागि अप्सरा गौतमप्रकाश सापकोटाले बैंकका प्रमुख कार्यकारी अधिकृत जोशीसँग गरेको कुराकानी :

तपाईको बैकिङ्ग यात्रा बारे बताइदिनुस् न ?
मेरो बैकिङ्गको यात्रा २०६१ सालमा नेपाल वङ्गलादेश बैंकमा Assistant Level मा खुल्ला प्रतिस्पर्धामा नाम निकालेर सेवा प्रवेश गरे संगै सुरु भएको हो । त्यसै बर्ष नेपाल बैंक लिमिटेडको ब्यवस्थापन विदेशी कम्पनिले लिएको थियो र उक्त ब्यवस्थापनले सहायक प्रबन्धकको सेवाको लागी खुला बिज्ञापन गर्यो । मैले पनि प्रतिस्पर्धामा भाग लिए र सफल भए । यसरी पहिलो जागीरको पाँच महिना पछि नै २०६१ सालकै कात्तिक २४ गते बाट नेपाल बैंकमा सहायक प्रबन्धक तहमा सेवा प्रवेश गरे । सहायक प्रबन्धकको हैसियतमा मैले कर्जा विभाग, रिश्क म्यानेजमेन्ट बिभाग र शाखा प्रबन्धकको रुपमा काम गरे । नेपाल र्बैकले फेरी डेपुटी म्यानेजर तह सात र सिनियर म्यानेजर तह नौ को लागी खुला प्रतिस्पर्धाको लागी बिज्ञापन निकाल्यो । ती प्रतिस्पर्धाहरुमा पनि मैले भाग लिए । तह नौ को सिनियर म्यानेजरको खुला प्रतिस्पर्धामा बैकल्पीक नम्बर एकमा परे भने डेपुटि म्यानेजर तह सातको खुला प्रतिस्पर्धामा भने मैले एक नम्वरमा नाम निकाली सर्वोत्कृष्ट हुन सफल भए ।

“नेपाल बैंकमा मैले जम्मा जम्मी साढे पाँच बर्ष काम गरे । त्याँहा विदेशी ब्यवस्थापन अन्र्तगत बैंकको सम्पुर्ण पुनसंरचना गरिने समयमा काम गरेकोले मेरो बैंकिङ्गको जग राम्रो संग बस्यो । “

पछि सन् २०६७ मा हालको एन आई सी एसिया बैंक र तत्कालिन बैंक अफ एसिया मा कर्पोरेट कर्जा विभाग अन्र्तगत रिलेशनशिप म्यानेजरको रुपमा सेवा प्रवेश गरे । त्यसपछि कलंकी र न्युरोड शाखाको ब्रान्च मेनेजरको रुपमा काम गरे । एन आई सी एसीया र्बैकको सेवाको अन्तिम समयमा म कम्पालयन्स विभाग प्रमुख र कन्ट्री ए एम एल ईम्लिमेन्टिङ्ग अफिसरको रुपमा कार्य गरी रहेको थिए । त्यसै समयमा सिन्धु विकास बैंकमा प्रमुख कार्यकारी अधिकृतको लागी अवसर आयो र मैले पनि प्रतिस्पर्धा गरे र सफल भए । यसरी यँहा सम्म आईपुग्दा मेरो बैकिङ्गको यात्राले १४ बर्ष पुरा गरेको छ ।

तपाई आएपछि यो बैकंको अवस्था कस्तो छ ?
म यो बैंकमा आएको छ महिना जति भयो । यो बैंक स्थानीय स्तरमा चलेको बैंक भएको हुँदा प्रविधि र ब्यवस्थापनका आधुनिक विधी र तरीकाहरुको प्रयोगको स्तरमा ठूलो सुधार गर्नु पर्ने थियो । उच्च गतीमा जोखिम रहित ढंगबाट ब्यवसाय विस्तार गर्न बैंकमा संस्थागत आधारहरु, संस्थागत सुसासन, कार्य शैलीहरु, जोस जागर र हौसलाको स्तर, नेतृत्व विकास, प्रतिस्र्पधी क्षमताको विकास, उत्पादकत्व, प्रभावकारीता आदि पक्षको सुधार र विकास गर्नु पर्ने टडकारो आवश्यकता थियो ।

अहिले बैंकमा हाजीरी व्यवस्थापन सिस्टम, कर्मचारी सूचना व्यवस्थापन सिस्टम र डिजिटल लोन अप्रुभल सिस्टम आदिको शुरुवात सँगै डिजीटलाईजेशनको सुरुवात गरीसकेका छौँ । संस्थागत संरचनालाई संस्थाको साईज, कार्य सम्पन्न गर्दा हुने सहजता, ग्राहक सन्तुष्टिमा केन्द्रिकरण हुने तरिका र संस्थाको दीर्घकालिन लक्ष्य पुरा गर्न सहयोग पुर्याउने ढंगले पुन संरचना गरेका छौँ जसमा संस्थाको ब्रेनको रुपमा भिजन र रणनिती तयार गर्न कर्पोरेट स्ट्रयाटिजी एण्ड ईन्सटिटयुसनल डेभलपमेन्ट डिर्पाटमेन्ट, ब्यवसायलाई समुचित विकास गर्न लोन डिर्पाटमेन्ट, जोखिमको प्रभावकारी ब्यवस्थापन गर्न ईन्टिग्रेटेड रिश्क म्यानेजमेन्ट डिपार्टमेन्ट तथा बैंकको सफल संचालन गर्न अपरेशन डिर्पाटमेन्ट मुख्य छन् ।

चार्टड एकाउन्टेन्ट, डाटाबेश एक्सर्पट जस्ता रणनैतिक महत्वका कर्मचारीहरु भर्ना गरेका छौ । कर्मचारीहरुको कार्यक्षमता अभिबृद्धिको लागि तालिममा विशेष महत्व दिएर तालीमका अवशरहरु प्रदान गरीरहेका छौ । बैंकमा नितिहरुको निर्माण, बैंकले प्रदान गर्ने सवै सेवाहरुको कार्य संचालन निर्देशिकाहरु तथा बैंकको जोखिम नियन्त्रण गर्न जोखिम ब्यस्थापन फ्रेमवर्क आदि तिब्र गतीमा बनाउँदै लागु गरी रहेका छौँ । यसरी बैंकको सर्वाङ्गीण र दीर्घकालिन प्रतिस्पर्धात्मक क्षमताको लागी कामहरु अगाडी बढाईरहेका छौ ।

“म बैंकमा प्रवेश गर्दाको बेला बैंकले दूई दुई पटक राईट शेयर जारी गर्दा समेत विक्री नभई राष्ट्र बैंकले तोकेको पुँजी नपुगि बैंकले आफनो बार्षिक साधारण सभा समेत गर्न नसकिरहेको अवस्था थियो । अहिले बैकमां कर्मचारी सञ्चय कोषलाई ठूलो लगानीकर्ताको रुपमा भित्र्याउन सफल भएका छाँै । मेरो जानकारीमा भए सम्म ३ जिल्ले विकास बैंकको ईतिहासमा कर्मचारी संचयकोषले लगानी गरेको यो पहिलो हो । यसरी म बैंकका हरेक क्षेत्रमा सुधारको लागि हरसम्भव लागिपरेको छु । “

सिन्धु बिकास बैंकले अहिलेसम्म कति जनसँख्या भुगोल र क्षेत्रफलाई समेटेको छ ?
सिन्धु विकास बैंक आजका मितिसम्म ३ जिल्ले विकास बैंक हो । अहिले राष्ट्र बैंकले ३ जिल्ले विकास बैंकलाई ५ जिल्ले विकास बैंक भनि परिभाषित गरीसकेकोे अवस्था छ र हामीले ५ जिल्लामा जानको लागी नेपाल राष्ट्र बैकमा निवेदन दिई सकेको अवस्था छ। हाम्रो अहिले सिन्धुपाल्चोक, काभ्रे र दोलखा कार्यक्षेत्र हो । हामीले यी ३ जिल्लामा अत्यन्त राम्रो छवी निर्माण गरेका छौ र ती क्षेत्रहरुमा हामी अग्रणी बैंकको रुपमा स्थापित छौ । हामीले अहिलेसम्म करिव ८० हजार ग्राहकलाई सेवा दिई रहेका छौँ । लगभग १२५ जना कर्मचारी छन् । झण्डै २३० जना प्रोमोटर छन् । यो क्षेत्रको सबैभन्दा धेरै राजस्व बुझाउने संस्था भनेर भक्तपुर राजस्व कार्यालयले हामीलाई सम्मान सहित प्रमाणपत्र पनि प्रदान गरेको छ । जुन भुगोल, क्षेत्र जनशक्ति र पूर्वधारको अवस्थामा यो बैंकले काम गरिरहेको छ । बैंकको प्रमुख कार्यकारी अधिकृतकोे हिसाबले यसरी नेपालको ग्रामिण क्षेत्रको विकासमा सहयोग गर्न पाई रहेकोमा एकदम खुसि छु । यहाँका जनताहरु प्रति आभारी पनि छु यस बैंकलाई अपार माया प्रदान गरीरहनु भएकोमा । राष्ट्र बैंकको स्विकृती पाए पश्चात हामी छिटृै चितवन र मकवानपुर जाने छौँ ।

बैंकले ग्रामीण क्षेत्रमा कसरी पहुच पुर्याइरहेको छ ?
हाम्रो मुख्य कार्यक्षेत्र गाँउ नै गाँउ भएको क्षेत्र हो । बैंकले अहिले १३ वटा शाखा र २ वटा एक्स्टेन्सन काउन्टर गरी जम्मा १५ वटा शाखाबाट ३ जिल्लाका विभिन्न ठाँउबाट सेवा दिइरहेको छ । बैंकले वित्तिय पहुँचताको सिद्धान्तलाई शिरमा राखेको छ । आज विरुवा रोप्दा मात्र भोली फल खान पाईन्छ भन्ने कुरामा हामी विश्वास गर्दछौ । हाम्रो कार्यक्षेत्र सिमित हुनाले यही क्षेत्रका उदयीमान ठाँउहरु, जहाँका जनता जागरुक छन् ।

पूंजीको निर्माण भएको छ, मानिसहरु जहाँ व्यवसाय गर्न उत्साहि छन् त्यो ठाउँमा सिन्धु विकास बैंक पुगेको छ । यस क्षेत्रकै दाजुभाईहरुले स्थानीय स्तरमा नै यो बैंकको स्थापना गरेकाले यी ३ जिल्लाका मानिसहरु संग अत्यन्त गहिरो भावनात्मक सम्बन्ध गाँसिएको हुनाले अरु जिल्लामा शाखा विस्तार गरेतापनि यहाँका ग्राहकहरुको आवश्यकता अनुसार हामी यी जिल्लाका सम्भावना बोकेका अरु ठाँउमा पनि जाने नै छौँ । केही समयमै यी ३ जिल्लाका १/ २ वटा ठाँउमा शाखा खोल्ने तयारीमा छौँ । सिन्धु विकास बैंक नाफा मात्रै नभई देश निर्माणको कार्यमा सहयोग पुर्याउनु पनि महत्वको विषय हो र यो नाफा भन्दा माथिको उपलब्धि हो भन्ने मान्यता बोकी जनताको सेवाको लागि दुर्गम क्षेत्रमा गइरहेको छ । र भविष्यमा पनि जान सधै तयार छ ।

यसले त झनै चुनौती थपिदैन ?
दुर्गम क्षेत्रमा बैकिङ्ग गर्नुका आफ्नै अवसर र चुनौती छन । चुनौती पक्कै छन् तर, नेपालको ग्रामीण बैकिङ्ग दुरगामी महत्व छ । चुनौतीलाई हामिले राम्रो संग बुझ्यौ  भने त्यो एक महत्वपुर्ण अवसर पनि हुने गर्दछ । चुनौतीलाई अवसर देख्न सक्ने हाम्रो क्षमता हुनु पर्दछ । संसारका कुुनै पनि सफल मानिस तथा संस्थाको ईतिहाँस हेर्नु हुन्छ भने पनि ठुलो सफलता ठुलो चुनौतीको जगमा नै बनेको हुन्छ । धेरै मानिसले चुनौति देखको अवस्थालाई पनि ती सफल हुने मानिस तथा संस्थाहरुले त्यसलाई अवसरको रुपमा प्रयोग गरेका हुन्छन । हामिले पनि अहिलेको चुनौतिलाई दुरगामी अवसरको लागी अनिवार्य हो भन्ने ठानि यसको उच्चतम फाईदा लिने हिसावले काम गरीरहेका छौँ ।

राष्ट्रिय स्तरको बैंक कहिले बनाउने योजनामा हुनुहुन्छ ?
बैंकको अहिलेको स्तरमै बसेर अहिलेका चुनौतीको सामना गर्न असहज हुने कुरा हामिले बुझेका छौँ । यसका अतिरिक्त अहिले संस्थाहरु एक आपसमा मिलि बलियो र सक्षम बन्ने र आफ्नो प्रतिस्पर्धी क्षमता बढाउने एक खालको प्रतिस्पर्धा नै रहेको अवस्था छ । राज्यले पनि बैंकको संख्या कम गर्ने, स्वस्थ र बढी प्रभावकारी संस्थाको सिर्जना गर्ने चाहना राखेको देखिन्छ । यस परिप्रेक्षमा हामि पनि सक्दो चाँडो स्तरोन्नति गरी अगाडी बढ्ने योजनामा छौँ ।

बैकंको हाल कर्जा र निक्षेपको अनुपात कस्तो छ ?
निक्षेप २ अर्व १५ करोड र कर्जा १ अर्व ६० करोड बराबर छ । बैंकमा हुने मुख्य समस्या तरलताको हो । हामीसंग धेरै वित्तिय उपकरण नहुने हुनाले तरलतामा अभाव नहुने गरी लगानी गरिरहेको हुन्छौँ त्यसैले सिन्धु विकास बैंकलाई तरलताको समस्या छैन । कर्जा र निक्षेपको अनुपात एकदम सहज र लगानी गर्न पर्याप्त पैशा भएको अवस्था छ ।

केही समय अघिसम्म ८७ वटा विकास बैंक हाल ३३ मा पुगेका छन् यसलाई कसरी लिनुहुन्छ ?
कुनै समय जनताको बैंकिङ सेवामा पहुँच देशको अत्यन्त गम्भिर र मुख्य मुद्घा थियो । जनताको वित्तीय सेवामा पहुँच पुर्याउन संस्था खोल्नैपर्छ भन्ने आंकलन गरी राष्ट्र बैंकले लाइसेन्स पोलिसी सरल बनाएको थियो । यस सुविधाको प्रयोग गरी त्यसबेला धेरै बैंकहरु देशका धेरै क्षेत्रमा खुले । यसले त्यतीबेलाको आवश्यकतालाई पुरा पनि गरयो । तर संख्या मात्र बढ्दा चुनौतीहरु पनि आउदा रहेछन भन्ने कुरा संसारका विभिन्न कुनाका वित्तीय क्षेत्रमा पछि घटेका घटनाक्रमले तथा हाम्रा आफ्नै अनुभवले पनि पुष्टि गर्यो । अहिले संख्या धेरै हुनु भन्दा स्वस्थ, सवल र सक्षम थोरै मात्र बैंक हुनु पर्छ भन्ने रियलाईजेशन धरैलाई भएको अवस्था छ । कुनै पनि कुरालाई समयले असर गरेको हुन्छ । हिजो एउटा समय र परिस्थितीमा संख्या बढाउनु आवश्यकता र तर्कसंगत थियो ।

आज समय, परिस्थिती फेरीएको छ । हिजो हामिले गरेका निर्णयहरुले आज जुन परिणाम दिईरहेका छन त्यसले यदि संख्या घटाउनु पर्दछ भन्ने कुराको संकेत गर्दछन भने हामिले घटाउन पनि असहज महशुष गर्नु हुदैन । समयको माग अनुुसार चल्नु नै पर्दछ । परिवर्तनलाई आत्मसाथ गर्दै नयाँ अवसरको खोजी गर्नु नै बढी बुद्घीमानी हो । आज जे भनिरहेका छौँ यो पनि अस्थाई नै हो भोली फेरी अर्को परिस्थिती आँउछ । तसर्थ म परिवर्तन प्रति सकारात्मक भई अगाडी बढ्न सक्ने महत्वपुर्ण क्षमताको विकास हामिले गर्नु पर्दछ भन्ने मान्यता राख्दछु ।

हालै आएको मौद्रिक नीतिलाई कसरी लिनुभएको छ ?
मैले यसलाई सकारात्मक रुपमै लिएको छु । देशले एउटा दिशानिर्देश गर्दा हामी त्यो देशका नागरिक हौ , संस्था हौ , त्यसैले हामीले यसलाई सपोर्ट गर्नैपर्छ । मौद्रिक नीतिले देशको फिस्कल पोलिसिलाई सपोर्ट गर्ने हो । हामीले गएको १/२ वर्षमा ६/७ प्रतिशतको बृद्धिदर पाइरहेका छौँ । राज्यको चाहाना दोहोरो अंकको वृद्धि होस् भन्ने छ र यो वर्ष पनि ८ प्रतिशतको बृद्घिको अपेक्षा गरेको छ । ब्यालेन्स अफ पेमेन्ट अनफेवरेवल छ । ब्यापार घाटा चुलिएको अवस्था छ । यी सवै परिस्थितीहरुको मुल्याङ्खन गरी संतुलित र सर्पोटिभ हुने मौद्रिक नीति आएको छ । यो खुसीको कुरा हो । ब्याजदर करिडोरको परिधि साघुरो पारिएको छ । अनिवार्य नगद मौज्दात सवै संस्थाहरुका लागी ४ प्रतिशत हुने ब्वस्था गरीएको छ । यसले बजारमा लगानीयोग्य पुँजी थप प्रवाह हुनेछ । यसै गरी बैधानिक तरलता अनुपात पनि सवै संस्थाहरुलाई एक एक प्रतिशत कम गरीएको छ ।

बैंकहरुलाई परिवत्र्य तथा भारतीय रुपैयामा समेत ऋण ल्याउन सक्ने सुविधाले लगानीयोग्य पुँजीको थप उपलब्धता हुने छ । यो सुविधा लघुवित्त संस्थाहरुलाई पनि दिइएको छ । नेपालकै ईतिहासमा पहिलो पटक हेजीङ्ग फन्डको ब्यवस्था गरीएको छ । प्रयोजन नखुल्ने ब्यक्त्तिगत कर्जाहरु तथा मार्जिन लेन्डीङ्गमा थप कडाई गरेको छ । कृषि र उर्जाक्षेत्रमा गरिने लगानीको प्रतिशत बढाईएको छ । शैक्षीक प्रमाण पत्रको आधारमा पनि ऋण दिन सकिने प्रावधान पक्कै पनि नयाँ शुरवात हो । यसका अतिरीक्त ऋण पुँजीलाई पनि सिसिडी रेसीयोमा गणना गर्न पाउने ब्यवस्था पनि नयाँ हो । बाणिज्य बैंकहरुले रु पचास करोड भन्दा बढीको ऋण दिदा ग्राहकको क्रेडीट रेटीङ्ग गराउनु पर्ने ब्यवस्था पनि नेपालको बैकिङ्गमा नयाँ नै हो । बाणिज्य बैंकहरुको स्प्रेडदर ४.५ प्रतिशत गरेको कारण नेपालको बैकिङ्गमा उत्पादकत्व बढाउनु पर्ने दवाव सिर्जना भएको छ । बाणिज्य बैंकहरुलाई मर्जरमा जान प्रोत्साहन गर्ने नीति लिईएको छ । यसले बैकिङ्ग क्षेत्रको कन्सोलिडेसनमा ठुलो टेवा पुग्नेछ । यसरी यसपालाको मौद्रिक नीति दुरगामी महत्वको छ ।

राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थालाई क, ख, ग, घ, वर्ग गरेर छुट्याएको छ । यसले जनतामा केही भ्रम सृजना भएको हो ?
वर्ग छुट्याएर जानुपर्ने केही सैद्धान्तिक र व्यवहारिक पाटो वा अवधारणा हुन् सक्छन् । नेपाल राष्ट्र बैंकले यो आवश्यक भएरै गरेको होला । यस्तो वर्ग यहाँ मात्र छैन । अरु देशमा पनि देखिन्छ । यसका प्रकृति, लेयर अलि फरक होलान् तर यसरी वर्ग भने कायम गरेको देखिन्छ । बरु वर्गीकरणका अझै बैज्ञानिक र बढी प्रभावकारी विधी छन भने त्यो गहन अध्ययन गरेर गर्दा रामो नै होला । यो वर्ग गरीएको कारण जनतामा भ्रम सिर्जना भएको वा नभएको सन्दर्भमा मलाई त्यति धेरै जानकारी त छैन तर पनि जनतामा केही भ्रम छन भने त्यसलाई हटाउन हामि सवैले प्रयास गर्नु पर्दछ ।

अन्त्यमा : के भन्नु हुन्छ ?
म बैंकीङ्गलाई संसारकै एक विशिष्ट र उत्कृष्ट पेशा हो भन्ने मान्दछु । यो पैशा कमाउने भन्दा पनि ईज्जत कमाउने पेशा हो । यस क्षेत्रमा लाग्ने ब्यक्त्तिहरुले उच्च नैतिकता, ईमान्दारीता र ब्यावशायीक आचरण अनुुसरण गर्नु पर्दछ । केहि ब्यक्त्तिहरुको स्वार्थका लागी यो पेशाको मर्यादामा नै आँच पुग्ने गरी काम गर्नु हुदैन । बैंकिङ्ग क्षेत्रको इज्जत मर्यादा र यसको आर्कषण एकदमै उच्च राख्ने कुराका लागी हामी अहिलेका पुस्ताका बैंकरहरु लाग्नुपर्छ भन्ने मान्यता राख्दछु ताकि भोलिको पुस्ता पनि बैंकिङ्ग पेशामा आउन प्रेरीत भईरहुन र देश निर्माणमा यो क्षेत्रको ठुलो योगदान भईरहोस । अहिले एकातिर बैकिङ्ग अनईथिकल हुँदै गईरहेको भन्ने कुरा पनि सुनिन्छ भने अर्कोतिर बैकिङ्ग पेशामा आवद्घ मानिसहरुबाटै यो पेशामा हाल मानवीयता हराँउदै गईरहेको भन्ने जस्ता गुनासा सुनिन थालेका छन् । बैकिङ्ग क्षेत्रका लागी यो एकदमै नराम्रो कुरा हो ।

“म ईथिकल बैंकिङ्ग गर्नु पर्दछ र यो पेशामा मानवीय पक्षहरुको उच्च सम्मान गर्नु पर्छ भन्ने पक्षमा छु । “

सिन्धु विकास बैंकमा हामि माया, सहयोग, आदर र अपनत्व सहितको सेवा भन्ने नाराका साथ अगाडी बढिरहेका छौँ । हामी प्रयासरत छौँ ।  हाम्रा ग्राहकहरुले सेवा लिदा माया, सहयोग, आदर र अपनत्वको महशुष गरुन जसले हाम्रो सम्बन्धलाई एक विशिष्ट र प्रगाढ बनाईराखोस । एकचोटी सिन्धुको सेवा लिई एक फरकपनको महशुष गर्न म सवैमा हार्दिक अनुरोध गर्दछु । यहाँहरुको साथ सहयोगको पनि अपेक्षा गर्दछु ।

यसमा तपाइको मत