सरकारको काम प्रति जनतामा एकदमै बितृष्णा फैलिएको छ : रामहरी खतिवडा

पूर्व सांसद रामहरि खतिवडा नेपाली कांग्रेसका युवा नेता हुन् । गत चुनाव पछी अहिले ओखलढुङ्गा जिल्लालाई केही परिवर्तनको आभाष दिन सफल भएका छन्, । भन्छन्, संसदभित्र प्रतिनिधित्व गर्न नसकेपनि जिल्लाको सेवामा निरन्तर खटिरहेको छु र खटिरहने छु । यसै सन्धर्बमा वर्तमान राजनैतिक घटनाक्रम , ओली सरकारको पाँच महिने कार्यकाल र नेपाली कांग्रेसका एजेण्डा लगाएतका विषयमा प्रस्तुत त छ पूर्व सांसद खतिवडासँग आर्थिकबजार डटकम को लागि अप्सरा गौतमप्रकाश सापकोटाले गरेको कुराकानी :

आजकल के मा व्यस्त हुनुहुन्छ ?

राजनीति गर्ने मान्छेको समय कहिलै फुर्सदिलो हुदो रैनछ । हिजो संसदमा हुदाँ, संसदमै आउदा जादाँ फुर्सद नहुने, संविधान बनाउने मुख्य काम थियो । संविधान बनाउन्जेल विदेश भ्रमणको निम्तो आँउदा पनि म कुनै पनि देशको भ्रमणमा गईन। ४ वर्षको अवधिमा मेरो सम्पूर्ण तलब भत्ता , सुबिधा आफुले नलिई गाँउमै दिने काम गरे । अहिले ओखलढुङ्गा जिल्लालाई केही परिवर्तनको आभाष दिन सफल भएका छौ । राजधानीबाट ७/८ घण्टामै ओखलढुङ्गा पुग्ने बाटो, पुलको निमार्ण गर्‍यौं। अन्य वैकल्पिक बाटोको पूर्वाधार तयार गर्दैछौ । ओखलढुङ्गामा रगुवा हाईड्रोपावर बनाउन पहल गर्‍यौं । १ अर्व ४३ करोड बजेट छुट्टियर काम भइराख्या छ। त्यससंगै जनताका सुख:दुखमा विहान बेलुका लागिराख्या छु। अहिले संसदभित्र प्रतिनिधित्व गर्न नसकेपनि जिल्लाको सेवामा निरन्तर खटिरहेको छु।

२.वर्तमान राजनैतिक घटनाक्रमलाई कसरी लिनुभएको छ ?

अहिलेको दुई तिहाईको सरकार वनेपछि जनताको हितमा पोजेटिभ कुरा केही पनि भएको देखिदैन् । ६ महिनाको अवधिमा जनताका विचमा त्यस्ता राम्रा कुराहरु केही पनि आएका छैनन्। यो सरकार कुरा चाहि एकदम मिठा गर्ने तर काम चाहि केही पनि नगर्ने सरकारका रुपमा देखिएको छ । चुनावमा जनतालाई पाँच हजार भत्ता दिन्छु भन्ने तर, अहिले मर्दा पनि र जन्मिदा पनि कर तिर्नुपर्ने अवस्था छ । जनतासँग १ हजार रुपैया छैन भने मर्न पनि नपाउनेभो नत्र उसको मृत्युदर्ता प्रमाणपत्र नपाउने भो, जन्मिदा पनि बच्चाले पैसा लिएर मात्र जन्मनुपर्ने भो।सरकारको काम कारबाही प्रति जनतामा एकदमै तृष्ण फैलिएको छ । कुरा गर्दा सुनको पुलमा स्वर्ग जाने सपना देखाई दिनुहुछ के.पी. ओली जी , सगरमाथामा केबुलकार बनाइदिनुहुन्छ । यि सबै हावाका कुरा मात्र भएका छन्। विमष्टेकमा आएका पाहुनालाई बाटो घाटो नभएर गोकर्णसम्म लगिएन। मलाई त यो सरकारको काम देखेर लाज महसुस भइराखेको छ ।

भनेपछि यो सरकालाई कुन रुपमा हेर्नुहुन्छ त ?
मैले भनिहाले यो मुखले मात्र भन्ने तर काम नगर्ने, जनतामा ठूला-ठूला सपना बाड्ने तर काम केही नगर्ने उडन्ते सरकार हो । म यसलाई अहिले पास मार्क मात्र दिन सक्छु । मन्त्रीहरु भ्रष्टचारका कुरा गर्छन् । आफै भ्रष्टचारमा चुर्लुम्म डुबेका छन्, अनावश्यक खर्च व्यापक छ, मन्त्रीहरु  बिच तालमेल छैन । ३३ किलो सुन काण्ड, विमान खरिद प्रकरण, सिन्डिकेट हटाउने कुरा आए तर त्यसमा प्रगति केही भएन ।तस्करहरुले सरकार चलाएको छ भनेर गृहमन्त्रीले भन्नुभयो । को हो त तस्कर भनेको ? प्रधानमन्त्री के.पी ओली हो । गृहमन्त्री रामवहादुर थापा ‘वादल’ हो ? सरकार उहाँहरुले नै चलाउनु भएको छ त तस्कर को हो ? यस्ता गैह्रजिम्मेवार कुरा गरेर छोटो समयमै यो सरकार जनताको विचमा गन्धे सरकारको रुपमा परिचालित भएको छ ।

पास मार्क दिने आधार चाहिँ के हो त ?

दुई तिहाइको सरकार बन्यो त्यत्ती हो । अरु उपलब्धी केही छैन।

दुई तिहाइको बलियो सरकार भएर होकि ! कांग्रेस अलि हतोत्साहि देखिन्छ नि ?
हामी उत्साही नि छैनौ, हतोत्साहि पनि छैनौ । राजाले अपदस्थ गर्दा त हामी हतोत्साहि भएनौ। हिजो संबिधान बहुदल मान्दैनौ भन्नेहरु चुनावबाट सरकारमा पुगिदैन भन्नेहरु यो पद्दतिमा विश्वास गरेर आएका छन् ।  त्यसैले मलाई त यो कुरामा गर्व लागेको छ ।  हामी जनताले दिएको ठाँउमा बस्छौ । यो नै बहुदलीय व्यवस्थाको सुन्दर पक्ष हो । जनताको अभिमतलाई स्विकार्न सक्नुपर्छ । अहिले बच्चाहरु विद्यालय जाँदा असुरक्षित छन् , मान्छेलाई फेक इन्काउन्टर गरेर मारिएको छ, डाक्टरहरुलाई गृहमन्त्रालयमा हाजिर गर्ने बोलाईएको छ , उपकुलपतिलाई एयरर्पोर्टबाट समातेर प्रधानमन्त्री कार्यलय लगिएको छ । विमेष्टेक सम्मेलनमा ठूला- ठूला होडिङ् वोर्ड राखिएको छ । सँसारका कुनै पनि तानाशाहको त्यस्तो रहर हुँदैन , हिजोका राजाहरुको माहावाणी जसरि  झुन्ड्यार राखिन्थ्यो, अहिले त्यस्तै देखिन्छन् । यस्ता काममा राज्यको अर्बौ रकम पानीसरह बगाइएको छ । छोटो समयमै यो सरकार असफल र बदनाम भइसकेको छ ।

नेपाली कांग्रेस विपक्षमा बस्नुभन्दा सरकारसँग हातेमालो गरेर जानु राम्रो हैन ?
हामीले सरकार बन्दा समर्थन गर्यौ । नीति तथा कार्यक्रम आँउदा सर्वसम्मत पास भएकै हो। बजेट ल्याउदाँ कहिल्यै बिरोध गर्यौ ? उनीहरुको पालामा त सुटकेस थुतेर लखेटेका हैनन् ? हामीले त्यस्तो केही गरेनौ । हामीले राम्रा काम गर्दा यो सरकारलाई समर्थन गरेकै छौ , गर्छौ पनि तर  जनतालाई करको भार ,ऋणको भार ,उद्योगी व्वयासायीलाई हतोत्साहित बनाउने , लगानिको वातावरण सृजना नगरेर देशलाई आतंकित गर्ने काम गरेकोमा हाम्रो विरोध हो ।

सँसदमा हुँदा आफ्नै पार्टीका गलत कदम विरुद्ध पनि बोल्नु भयो यसले गर्दा राजनीतिमा कतै घाटा व्यहोर्नु  परेको जस्तो लाग्दैन ?

घाटा नाफा हुन्छ । तर सत्य कुरा जहाँ पनि बोल्नुपर्छ । म पार्टीभित्र अहिले पनि बोल्छु हिजो पनि बोले , भोलि पनि बोल्नेछु । म पहिला यो देशको नागरिक हुँ, त्यसपछि पार्टीको हुँ, अनिमात्र  परिवारको हुँ । त्यसैले मलाई देशबासी प्यारा हुन्छन् । जाति र पार्टी भन्दा माथि उठेर कुनै बेला संसदमा प्रस्तुत हुने भुमिका मैले राम्रोसँग निर्वाह गरे । पार्टी भित्र पनि म गुट र उपगुटको राजनीति गर्दिन । सबै मेरा हुन् , राम्रा मान्छे हाम्रा हुन्, हाम्रा मान्छे राम्रा हुन् । म पार्टिलाई परिवार सम्झन्छु , परिवारलाई पार्टी सम्झनन् ।

कांग्रेस दिशाहीन भयो , कहिले गोविन्द केसीको पछि , कहिले मन्त्रीका निर्णयको पछि लाग्यो, सरकार विरुद्ध कांग्रेसको एजेण्डा नै भएन् भन्छन् नि ?

कांग्रेसको एजेण्डा बहुदलीय प्रतिस्पर्धा , मानवअधिकार, प्रेस स्वतन्त्रता , कानुनी राज्य, ५ वर्षमा अध्यावधिक निर्वाचन हो । केसीको पक्षमा हामीले किन बोल्यौ भन्दा केसी माथि अन्याय भएको थियो। उहाँका माग जायज थिए । मन्त्रीका गलत काम विरुद्ध आवाज उठाउने हाम्रो कर्तव्य हो। कांग्रेसले राणा, पञ्चायत , निरङ्ककुस  राज्यतन्त्र, माओवादीको विरुद्ध बोल्यो र हाम्रा कति साथिहरुले साहादत प्राप्त गर्नुभयो । हिजो अमेरिका जाँदा बयलगाडाबाट पुगिन्न भन्ने, लोकतन्त्र र गणतन्त्रको पक्षपाति के.पी ओली र उसको सरकाले गलत गर्यौ भने उसका विरुद्ध बोल्न कांग्रेसलाई डर लाग्दैन ।

डा. गोबिन्द के.सी को पक्षमा त्यत्रो लाग्नु भयो तर दिनदिनै हत्या बलात्कारका घटना भइराख्या छन् । निर्मला पन्तको हत्यारालाई कारवाहीको लागि कांग्रेस  किन अघि बढेन ?

देशका नागरिकको सुरक्षाको जिम्मा सरकारले लिएको हुन्छ । निर्मला मात्र हैन धेरै महिला तथा बालबालिकाहरु बलात्कृत र हत्या भएका छन् । र अनाहकमा मर्नु परेको छ । यो कुराको अन्त्य गर्ने दायित्व सरकाको हो । यस्ता घटनाका दोषिलाई पक्राउ गरि कडा कारबाहि गर्नुपर्छ । हत्यारा ,गुण्डा , डकैतीलाई उनिहरुका साम्सद राती गएर छुट्याएर ल्याउने , प्रहरी प्रशासनलाई पङ्गु बनाउने, बलात्कारका संरक्षणकर्तालाई पदक दिइएको छ। हामीले यस्ता गलत कदमका विरुद्ध आवाज उठाँउछौ। त्यस्मा कांग्रेस यो र त्यो भन्दैनौ । नेपाली नारीको सार्वभौमिकता , जीवनरक्षाको लागि कांग्रेस आवाज उठाँउछ ।

बलात्कारीलाई कडा कारवाही गर्नुपर्छ भन्नुभयो ,कडा कारबाहि भनेको चाही कस्तो कारवाही हो ?
म संविधान वनाउने साम्सद हुँ । हामीले संविधानमा मृत्युदण्डको प्रावधान राख्न सकेनौ । त्यो वाहेक सबै प्रावधान जे–जे त्यो गर्नुपर्छ। मान्छेलाई यस्ता अपराध गर्दा दण्ड सजाय हुन्छ भन्ने ज्ञान हुनुपर्छ । कानुनले मात्र अपराध घट्ने हैन। जनचेतनाका कार्यक्रमहरु ल्याउनु पर्छ । कानुहरुलाई आवश्यक संसोधन गर्दै कडा रुपमा लागु गर्नुपर्छ ।

यस्ता घटना त तपाईहरुको सरकार हुँदा पनि घटेका हुन् तर, यसलाइ सरकारको कमजोरीको रुपमा त व्याख्या गर्न मिलेन नि ?
कांग्रेस होस कि कम्युनिष्ट होस् । मेरो होस कि तेरो होस । आफ्नै परिवारको मान्छेले गल्ती गर्छ भने पछि त्यसलाई कानुनी दायरमा ल्याउनुपर्छ । अपराध गर्नेलाई जात ,धर्म ,पार्टीको नाम दिएर संरक्षण गर्नुहुन्न । गलत गर्नेलाई कानुनी कारवाही गर्नुपर्छ ।

अन्त्यमा : के भन्नुहुन्छ ?
मुलुक एउटा समृद्धिको नारा लिएर गएको छ । तर यो सरकारले केवल सपना मात्र बाडिरहेको छ। यसलाई सपना मात्र नबनाई विपनामा परिणत गर्नुपर्छ । कम्युनिष्टहरुको शासनमा स्वतन्त्रता भन्ने कुरा हुँदै हुदैन । हामीले नत्थि लगाएर तत्कालिन ए माले र माओवादीका साथीहरुलाई यो प्रक्रिया सम्म ल्याइपु-यायौ । अब यो पद्धतिलाई बचाएर लानुपर्ने कर्तव्य छ । देश शान्तिपूर्ण रुपमा परिवर्तन र विकासको बाटोमा गएको छ । नेपाल समृद्ध मुलुक बनोस र यसका लागि हामी सबैले पहल गर्नुपर्छ ।

२०७५ भाद्र २५ गते प्रकाशित

यसमा तपाइको मत