हेलिकप्टर दुर्घटना : आइतबार बिहान शव काठमाडौँ ल्याइने

Arthikbazar – गोरखाको सामागाउँबाट यात्रु लिएर काठमाडौँ फर्कंदै गरेको अल्टिच्युड एयरलाइन्सको हेलिकोप्टर दुर्घटनामा परी मृत्यु भएकाको शव आइतबार बिहान काठमाडौँ ल्याइने भएको छ ।

घटनास्थलबाट शव सङ्कलन गरी उद्धारमा गएको हेलिकप्टर अवतरण भएको स्थानसम्म ल्याइसकिएको र मौसमले साथ दिए आइतबार बिहान हेलिकप्टरमार्फत शव काठमाडौँ ल्याइने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले राससलाई जानकारी दिनुभयो ।

गोरखाबाट काठमाडौँ आउँदै गरेको अल्टिच्युड एयरलाइन्सको हेलिकोप्टर नुवाकोटको मेघाङ गाउँपालिकामा आज बिहान दुर्घटना हुँदा त्यसमा सवार सातमध्ये छजनाको मृत्यु भएको थियो ।

मृत्यु हुनेमा हेलिकोप्टरका पाइलट निश्चल केसी, जापानी नागरिक हिरोमी कोमात्सु (राहदानी नम्बर टिके ७१३६१२०६८), रामेछापका ४० वर्षीय दिल्लीबहादुर गुरुङ, दोलखाका ३७ वर्षीया हीरा शेर्पा, गोरखाको चुमनुब्री गाउँपालिका–१ का छोवाङ नुर्वु र सिन्धुपाल्चोकका २२ वर्षीय सुनिल तामाङ छन् ।

दुर्घटनामा एक मात्र यात्रु आनी डोल्मा बाँच्न सफल भएकी थिइन् । डोल्माको मेडिसिटी अस्पताल ललिपुरमा उपचार भइरहेको छ ।

यसमा तपाइको मत