सगरमाथा नचढी फर्किए ३ सय पर्वतारोही

Arthikbazar – सन् २०१८ को वसन्त ऋतु (वैशाख–जेठ)मा सगरमाथा आरोहण गर्न गएका पर्वतारोहीहरूमध्ये करिब ३ सय आरोही चुचुरो चुम्न असफल भएका छन् ।

पर्यटन विभागका अनुसार यस सिजनमा नेपाली सरदार, गाइड, शेर्पासहित ८ सय ५५ जना आरोही सगरमाथाको चुचुरो चुम्ने लक्ष्यसहित त्यसतर्फ लागेका थिए । त्यसमध्ये ५ सय ६३ जना आरोही सगरमाथा चुचुरो पुग्न सफल भएका छन् । तर, २ सय ७७ जना आरोही भने विनासफलता फिर्ता भएका हुन् । आरोहीहरूमध्ये अधिकांश स्वास्थ्य समस्या र प्रतिकूल मौसमका कारण फिर्ता हुन बाध्य भएका हुन् ।

भारतीय र अमेरिकी नागरिक बढी असफल
सगरमाथा आरोहणका लागि अनुमति लिएकामध्ये सबैभन्दा बढी भारत र अमेरिकाका नागरिक चुचुरो पुग्न असफल रहे । यस सिजनका लागि भारतबाट ५९ र अमेरिकाबाट ५५ जनाले आरोहण अनुमति लिएका थिए । त्यसमध्ये १२ अमेरिकी र ८ भारतीय चुचुरोसम्म पुग्न असफल रहे । यस सिजनमा नेपालका ५ सय १४ जना सरदार, गाइड, सहयोगी सगरमाथा आरोहणका लागि पुगेका थिए । त्यसमध्ये ३ सय २ जना नेपाली सहयोगी चुचुरोसम्म नपुगी फर्किए ।

महिला आरोहीको रेकर्ड राम्रो
यस सिजनमा सगरमाथा आरोहणको लक्ष्यसहित ६७ जना महिला पर्वतारोही पुगेका थिए । त्यसमध्ये ५२ महिला पर्वतारोही चुचुरो पुग्न सफल भए । १५ जना मात्र महिला पर्वतारोही चुचुरोमा पुगेनन् । त्यसमध्ये ३ जना महिला सरदार, गाइड, सहयोगी छन् । यस सिजनमा ८ जना महिला सरदार, गाइड, सहयोगी सगरमाथातर्फ लागेका थिए ।

२७७ पुरुष असफल
सगरमाथा आरोहणका लागि पुगेकामध्ये २ सय ७७ जना पुरुष चुचुरोमा पुग्न असफल रहे । यसमध्ये ठूलो संख्या नेपाली सरदार, भरिया र सहयोगीको छ । त्यसबाहेक आरोहण दलका सदस्य छन् । कुनै आरोहण दलको सदस्य चुचुरोसम्म पुग्न सकेन भने ऊसँगै गएका सरदार, गाइड र सहयोगी पनि सँगै झर्नुपर्ने हुन्छ । सोहीकारण धेरै नेपाली सहयोगी चुचुरोसम्म नपुगेको देखिन्छ ।

३७ मुलुकका आरोही
वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि ३७ मुलुकबाट ३ सय २३ पर्वतारोहीले अनुमति लिएका थिए । त्यसमध्ये महिलाहरूले १५ देशबाट प्रतिनिधित्व गरेका थिए । यो सिजनमा सबैभन्दा धेरै नेपाली महिला (१५ जना) सगरमाथातर्फ लागेका थिए । त्यसमध्ये १३ जनाले सफल आरोहण गरे भने २ जना चुचुरो नपुगी फर्किएको विभागको तथ्यांक छ । वसन्त ऋतु सगरमाथा आरोहणका लागि सबैभन्दा उपयुक्त समय हो ।

यसमा तपाइको मत