बुधबार शेयर बजारमा उत्साह, नेप्से २३.८९ अंकले बढेर १२३४.१३ विन्दुमा

Arthikbazar – गत विहीबारदेखि निरन्तर बढ्न थालेको बजारले यो साता पनि निरन्तरता पाएको छ । बजार बढ्दै गर्दा लगानीकर्ता वाणिज्य बैंकहरुको शेयरमा आर्कषित देखिएका छन् ।

अर्थमन्त्री डा. युवराज खतिवडाले लगानीकर्ताहरुकोसँगको भेटमा शेयर बजारमा देखिएको पूँजीगत लाभकरको दुविधा अन्त्य गर्ने घोषणा, अन्य क्षेत्रमा पनि अनावश्यक कर नलगाउने प्रतिबद्धता लगायतले बजारलाई बढ्न टेवा पुर्याएको देखिन्छ ।

लगानीकर्ताहरुको सँगको भेटमै बैर्कस संघले सस्तो ब्याजदरमा मार्जिन कर्जा उपलब्ध गराउनुका साथै असोज लागेपछि ब्याजदर समेत घट्ने आश्वासन दिएपछि लगानीकर्ताको मनोबल उच्च हुँदै गएको छ ।

बुधबार नेप्से २३.८९ अंकले बढेर १२३४.१३ विन्दुमा आइपुगेको छ । कुल १६७ कम्पनीको ७० करोड ८० लाख बराबरको २३ लाख ७२ हजार ३६३ कित्ता सेयर किनबेच भयो ।

बुधबार २३ अंकले बजार बढ्दा वाणिज्य बैंक समूहको उप-सूचक नै २२ अंकले बढेको छ । त्यस्तै कुल ७० करोड बढीको कारोबार हुँदा ४३ करोड बढीको कारोबार यही समूहमा भएको छ । साथै शेयर संख्या र रकमका हिसाबले पनि धेरै कारोबार हुने उत्कृष्ट दश कम्पनीहरुमा वाणिज्य बैंकहरु नै देखापरेका छन् ।

बुधबारको बजारमा सबैभन्दा धेरै २ लाख १४ हजार ७३० कित्ता शेयर कुमारी बैंकको कारोबार भएको छ ।  कुमारीको ४ करोड ९० लाख बराबरको कारोबार भयो । उच्च कारोबार हुने बैंकहरुमा एनएमबि, जनता, मेगा, नेपाल, एनआईसिए, एनसीसीबी, प्रभु छन् ।

 

 

यसमा तपाइको मत